लेखा अधिकृतविरुद्ध चार करोड ६७ लाखको भ्रष्टाचार मुद्दा

  Sampatti News Online

September 4, 2023

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सार्वजनिक पदमा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । ५३ साल जेठ १७ गते सार्वजनिक सेवामा प्रवेश गरेका कार्कीसँग  पाँच करोड ७५ लाख ८७ हजार ३ सय सत्तरी रुपैंयाको सम्पत्ति देखिएको,  उक्त सम्पत्तिमध्ये वैद्य आय १ करोड ८ लाख ४८ हजार ५९० मात्र देखिएको र बाँकी ४ करोड ६७ लाख रुपयाँ भन्दा बढी रकमको श्रोत नखुलेको हुँदा उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले बताएको छ 

यसरी अकुत आर्जन गरिएको सम्पत्तिले श्रीमती उर्मिला थापा कार्कीको नाममा राखिएको र श्रीमतीकै नाममा जग्गाहरू खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले कार्कीको श्रीमतीविरुद्ध मुद्धा दायर गरेको छ ।

प्रकाशित मिति:September 4, 2023