सुन तस्करीमा अख्तियारले सीआईबीसँग माग्यो कल डिटेल्स

  Sampatti News Online

September 5, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ ।

छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग दावाको कल डिटेल्स मागेको छ । अख्तियारका एक अधिकारीले छानबिनका क्रममा सीआईबीसँग दावाको कल डिटेल्स मागिएको र छिटै प्राप्त हुने विश्वास गरिएको बताए । साथै यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ ।

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन थालिएको हो ।

यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्का माथिसमेत अख्तियारले छानबिन थालेको छ ।

प्रकाशित मिति:September 5, 2023