उपचार नपाएर बालिकको मृत्यु प्रकरणमा सांसदले गराए सरकारको ध्यानाकर्षण

  Sampatti News Online

September 7, 2023

काठमाडौँ । सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटना सम्बन्धमा सांसदरूले सरकारको आलोचना गरेका छन् ।​

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक सयमा कांग्रेस, एमाले र रास्वपाका सांसदहरूले राजधानीको अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु हुनु लाजमर्दो विषय भएको बताएका हुन् । कांग्रेस महामन्त्रीसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कान्तिमा भएको घटनाको अनुसन्धान गर्न माग गरे । दोषीमाथि कारवाहीको माग गर्दै उनले यो घटनालाई सामसुम पार्न नदिने बताए । 

एमाले सचेतक महेश बर्तौलाले कान्तिका जिम्मेवार अधिकारीमाथि कारवाही हुनुपर्ने बताए । घटना सम्बन्धमा स्वास्थ्य मन्त्रीले संसद्‌लाई जानकारी दिनुपर्ने उनको माग छ ।

रास्वपाकी डा. चन्दा कार्की र सुमना श्रेष्ठले अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आपत्ति जनाए । 

मकवानपुर घर भइ काठमाडौंमा बस्दै आएकी रेजिशा गोपालीको उपचार नपाएर कान्ति अस्पतालमा सोमवार राति निधन भएको थियो । 

प्रकाशित मिति:September 7, 2023