September 7, 2023
काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस गरिएको छ। आयोगको उपाध्यक्ष पदको लागि डा अञ्जनी कुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको हो।
उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको उक्त नाममध्ये एक जना बिहीबारकै बैठकमा नियुक्त हुने सम्भावना रहेको बताइएको छ।
आयोगमा योग्य व्यक्तिलाई छान्न डा गोविन्द केसीले माग गर्दै आइरहेका छन्।
आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तगर्वाता र प्रस्तुतिकरण हेरेको थियो।
आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल दरखास्त स्वीकृत भएको छ। यस्तै वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए।
डा गोविन्द केसीले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई छान्न माग गरेका हुन्।
‘कुनै राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै छान्नुपर्ने हुन्छ केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्यसका लागि चिकित्सा शिक्षाका क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको तथा कुनै पनि स्वार्थ समुहसित कुनै सम्बन्ध नभएको विगतमा कुनै अनियमिततामा नमुछिएको व्यक्तिलाई छान्नुपर्ने हुन्छ। त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ।’
प्रकाशित मिति:September 7, 2023
November 25, 2024