भारतले थप १८० मेगावाट बिजुली किन्ने, निर्यात ६३२ मेगावाट पुग्ने 

  Sampatti News

September 7, 2023

काठमाडौं। नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको ऊर्जा मन्त्रालयबाट स्वीकृति पाएको छ। 

नेपालले यसअघि ४ सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप ४ वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। 

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट १ सय १० मेगावाट गरी १ सय ८० मेगावाट बिजुली बेच्न अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला, दूधकोसी र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ।
 विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचेन्ज(आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट ८ रूपैयाँ ४० पैसा (५.२५ भारुमा बिक्री हुनेछ। 

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ। प्राधिकरण र नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट ५.२५ भारुमा २ सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ।

नेपालले सोलुखोला (दूधकोसी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने थियो। 

प्रकाशित मिति:September 7, 2023