शेयर बजारको १२ करोड नीति हट्ने संकेत, लगानीकर्ताको लगानी डुब्न दिँदैनौंःअर्थमन्त्री

  Sampatti News Online

September 7, 2023

काठमाडौँ  । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा रहेको १२ करोडको नीति हटाउने संकेत गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नको जवाफ दिँदै महतले राष्ट्र बैंकले सेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका हुन् ।  

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुसँगको ‘प्रश्नोत्तर’ मा अर्थमन्त्री महतले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको पनि बताए । नेप्से करिव ३२०० विन्दुबाट ओरालो लागेर २००० भन्दा तल आएपछि अर्थमन्त्रीको यस्तो भनाई आएको हो ।

शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्न कानुनले छुट दिएको छ । शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेसा व्यवसायलगायतमा सबैले शेयर बजारमा लगानी गर्न सक्छन् । कसैले पूर्णकालीन व्यवसायीको रुपमा लगानी गर्छन्,’ उनले भने, ‘कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ ।

यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले शेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन । शेयर कारोबारमा कोही पनि अनुचित रुपमा नलिऊन् । केही व्यक्तिहरूले शेयर कारोबारमा मेनुपुलेसन गर्न नपाऊन्, इन्साइडर ट्रेडिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाऊन् भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ ।’

शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भीर रहेको पनि मन्त्री महतको भनाइ छ । ‘शेयर कारोबारमा मूल्य गिरावट आएको छ । त्यसको विविध कारण छन् । केही कारोबारमा राखिएका प्रतिबन्धले पनि बजार प्रभावित भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौं,’ उनले भने, ‘हामी चाहन्छौं यो शेयर कारोबारले सहज रुप लियोस् ।

लगानीकर्ताहरूको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । यसलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’

प्रकाशित मिति:September 7, 2023