काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
हङकङबाट असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थाहा भएकाे छ । यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको थियो ।
हालसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली रहेका छन् । त्यसैगरी सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल र शिव कुमार सराफलाई पनि प्रहरीले पक्राउ गरेको छ ।