तय भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली, को-को जाँदैछन् ?

  Sampatti News Online

September 8, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ‍ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको तयार भएको छ । पराराष्ट्रमन्त्री एनपी साउदले संसदीय समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका जाने टीम तयार भएको जानकारी गराएका हुन् ।

भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्।

मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जना हुने छन्।

स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन्।

यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन्।

यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने छन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।

महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

प्रकाशित मिति:September 8, 2023