कार्यालयमै यौनलीला गर्ने प्रशासकीय अधिकृतलाई बाह्रदशीमा हाजिर गर्न रोक

  Sampatti News

September 10, 2023

काठमाडौं । कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ ।अस्ति शुक्रवार बसेको बाह्रदशी गाउँकार्यपालिकाको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको पालिका स्रोतले जनाएको छ । इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।

लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमा अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय भएको छ ।

गाउँ कार्यपालिका बैठकले घटनामा संलग्न लेखा अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताएका छन् ।

मंगलबार बाहिरिएको भिडियो सीसीटीभीको हो वा होइन र कसरी बाहिरियो भन्नेबारे सत्य–तथ्य पत्ता लगाउन मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ ।

गाउँपालिकाको पुरानो भवनमा साउन १८ मा भएको आगलागीको घटना छानबिन गर्न गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा साउन २१ मा समिति गठन भएपनि अहिलेसम्म कुनै तथ्य बाहिर आउन सकेको छैन ।

अश्लील क्रियाकलापको भिडियो बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत राईले पाएको ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ खोसिएको छ ।

एकान्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको बताएका छन् ।

राईले इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा अवार्ड पाएका थिए । चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत रहेका बेलासमेत राईले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । घटना बाहिर आउन नदिई दुवै पक्षलाई राखेर सामसुम पारिएको थियो ।

राई अहिले माइजोगमाई गाउँपालिकाबाट सरुवा भइसकेका छन् । प्रदेश मन्त्रालयमा सरुवा भएका राई त्यहाँबाट पनि झापाको बाहदशी गाउँपालिका सरुवा गएका छन् । उनलाई माइजोगमाईको घटनाको सीसीटीभी फुटेज बाहिरिएपछि बाहदशीमा पनि हाजिर गर्न रोक लगाइएको छ ।

असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सीसीटीभी फुटेज मंगलबार बाहिरिएको थियो ।

सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेन समेत गरेको देखिन् । केही साताअघि गाउँपालिकाको कार्यालयमा आगलागीसमेत भएको थियो । तत्कालै आगो नियन्त्रणमा लिइएपछि धेरै क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र यौन क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

नेपाली कांग्रेस गाउँपालिका समितिले विज्ञप्ति जारी गरी घटनाको गहन छानबिन गर्न र सत्य–तथ्य बाहिर ल्याउन अनुरोध पनि गरेको छ । गाउँपालिका सभापति नरेन्द्रकुमार देवानले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न तथा पालिकाको गोप्य सीसीटीभी फुटेज बाहिर ल्याउने विषयमा समेत शंका पैदा भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति:September 10, 2023