सशस्त्र प्रहरीको पेट्रोल पम्पमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

  Sampatti News Online

September 10, 2023

काठमाडौँ । कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आज (आइतबार) २ वटा फास्ट चार्जिङ स्टेसन उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महानिरीक्षक अर्यालले चार्जिङ स्टेसनको सञ्चालनबाट विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन मिल्ने र यसको उपलब्धताले प्रयोकर्ताहरुलाई विश्वसनीय र ढुक्क हुने वातावरण बनाउने बताए ।अर्यालले पेट्रोलियम पदार्थबाट सञ्चालनमा रहेका निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकिएमा भविष्यमा इन्धन र ऊर्जामा विदेशीने ठूलो धनराशी बचत हुने तथा व्यापार घाटा न्यूनीकरणमासमेत टेवा पुग्ने बताए ।

सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच ९ भदौ २०७९मा चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ ।

प्रकाशित मिति:September 10, 2023