कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ : शेखर कोइराला

  Sampatti News

September 10, 2023

मकवानपुर । कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्ने वेला आएको बताएका छन्। 

पार्टीका संस्थापक नेता बिपी कोइरालालको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा आइपुगेका नेता कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने वेला आएको बताएका हुन्। नेता कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू देशलाई द्वन्द्वमा लाने खालको भएको आरोपसमेत लगाए। 

उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए । ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताए ।

हामी देशकै ठूलो दल हौं । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले यसैगरी सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताए । ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले थपे ।

पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्य रुपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गरेका छन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छ । हरेक पार्टीभित्र समस्या आउँछ । यसलाई चिर्दै हामी अगाडि बढ्ने हो,’ उनले भने, ‘अन्य पार्टीमा नेता र कार्यकर्ता बोल्न सक्दैनन् । हाम्रो पार्टीभित्र गुनासो र चित्त नबुझेको कुरा राख्छौं । नेपाली कांग्रेस फुट्दैन ।’

उनले देशको अखण्डता र सार्वभौमसत्तालाई जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए । ‘अहिले कांग्रेसलाई चौतर्फी रुपमा आक्रमण भएको र त्यसलाई परास्त गर्न जरुरी छ,’ उनले भने ।

यसअघि नेता कोइरालाले हेटौँडा उपमहानगरपालिका– ११ सरस्वतीमा रहेको बिपी वाटिकामा निर्माण गरिएको बिपी कोइरालाको अर्धकदको सनलिक अनावरण गरेका थिए। 

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतको उपस्थिति थियो।

प्रकाशित मिति:September 10, 2023