सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

Nepal Cover
२६ भाद्र २०८०, मंगलवार
image

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि पर्यटनमन्त्री सुदन किराँतीले भने, ‘संविधान निर्माण प्रक्रियामा खेल्नुभएको भूमिकालाई सम्मान गर्दै उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ।’

नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ।

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।