श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

  Sampatti News Online

September 12, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उनले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकामा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन् ।

सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नु परेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

अन्तरक्रियामा प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको बताए। उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेको भन्दै यसको सम्बोधनमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगहरूले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न निर्देशन पनि दिएका छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरुवात भइसकेको जानकारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले गराएका छन्। म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु’, उनले भने, ‘हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरमा वृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ ।’

प्रकाशित मिति:September 12, 2023