धरानका उपमेयरको घरमा तोडफोड, ८ जना पक्राउ, घाइतेको अवस्था गम्भीरधरानका

  Sampatti News Online

September 13, 2023

धरान : धरान उपमहानगरपालिकाक उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन्। 

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ बिष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ। 

बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको बेघाले गुनासो गरेका छन्। उनले घटना घट्ने वित्तिकै प्रहरि बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको बताए।

उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड र आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ। घाइते दुईसहित घटनामा संलग्न ८ जनालाई पक्राउ गरि सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीकाले जानकारी दिएका छन्। 

आक्रमणमा परी घाइते भएका उपमेयर बेघाका कान्छा भाई विष्णु बेघा र विपक्षी समूहका घाइते युवा सन्देश राई पनि पक्राउ परेका छन्। उनीहरु दुबै घाइते अवस्थामा छन्। दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। 

बेघाको भाइ विष्णुको टाउको र अनुहारमा चोट लागेको छ। बेघाको विपक्षी समूहका सन्देश राईलाई भने बढी चोट लागेको प्रहरीले जनाएको छ। उनको शरीरमा पछाडि कम्मरमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रहरीले दुबै समूहका अन्य ६ जनालाई पक्राउ गरेको जनाए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। 

विवादको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। दुई टोलका युवाहरुबीच पुरानो रिसइबीले मंगलबारको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

उपमेयर बेघाले आफ्नो घरमा आक्रमण हुँदा प्रहरीलाई समयमै खबर गर्दा पनि नआएको गुनासो गरेका छन्। उनले धरानका डिएसपीलाई फोन गरेको फेसबुक लाइभ गरेपछि घटनाप्रति सार्वजनिक चासो बढेको थियो। 

युवाहरुले घरमा आएर ढुंगामुढा गरेर परिवारलाई आतंकित बनाएको उपमेयर बेघाको भनाई छ। ‘वल्लो र पल्लो टोलका युवाहरुको व्यक्तिगत समस्या होला,’ बेघाले भने, ‘तर घरमा आएर ढुंगामुढा गरेर परिवारका सबैलाई आतंकित बनाउने काम भयो।’

दुबै पक्षका घाइतेलाई उपचार गराउन पुगेका युवाहरुबीच मंलबार साँझ बीपी प्रतिष्ठानको इर्मजेन्सी वार्डमै कुटाकुट भएको थियो। दुबै पक्षले शुरुमा अर्को समूहल आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको युवाले शुरुमा उपमेयर बेघाको भाइले आक्रमण गरेपछि सन्देश राईको समूहले विष्णु बेघालाई आक्रमण गरेको बयान दिएका छन्। 

विष्णु बेघाले भने अर्को समूहका युवाहरु गाउँमा आएको थाह पाएपछि कुरा गर्न जाँदा आफूलाई बाटोमा एक्कासी आक्रमण गरेको र घरमा आएर तोडफोड गरेको बयान दिएका छन्। हुलमुलमा सन्देशलाई कसले आक्रमण गर्यो आफूलाई जानकारी नभएको उनको दाबी छ। 

तोडफोड र आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ। 

प्रकाशित मिति:September 13, 2023