घुस रकमसहित सहायक वन अधिकृत पक्राउ

  Sampatti News Online

September 14, 2023

डोटी । नगद पाँच हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएको छ।

जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन्। स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन्।

आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाइ प्रमाणसहित पक्राउ गरिएको स्थानीय बताउँछन्। इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृतमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीमार्फत जानकारी लिन सक्ने बताए। सुरुमा सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ।

प्रकाशित मिति:September 14, 2023