६० किलो सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने, उच्चस्तरीय समिति गठन प्रक्रिया शुरु

  Sampatti News

September 15, 2023

काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

 सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएसँगै उच्चस्तरीय छानबिन समिति गठनको तयारी भएको छ।

नेकपा एमालेले सुन प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै सदन पटक पटक अवरुद्ध गरेपछि सरकार समिति गठन गर्न तयार भएको थियो। सहमतिअनुसार समिति गठनको कार्य अघि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले अब एमालेसहितका दलहरूसँग आफूले गरेको सहमतिअनुसार समिति गठन गर्ने प्रक्रिया अघि बढेको उल्लेख गरे।

‘अवैध सुन तस्करीका सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।

यस प्रकरणमा सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अध्ययन गरिरहेको छ। अध्ययन सकेर पर्सि आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ताले जानकारी दिए।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्रबैंक ऐन, नेपाल नागरिकता ऐन र राहदानी ऐन, अध्यागमन ऐनअनुसार कारबाही चलाउन माग गरेको सीआईबीले पूरक अनुसन्धान भने जारी राखेको छ।

सातवटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेको छ तर अहिले सीआईबीले रेडी ट्रेड प्रालिबाट भएको तस्करीको मात्रै अनुसन्धान सकाएको छ।

सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार सातवटा कम्पनीबाट ३६२ किलोग्राम सुन तस्करी भएको तथ्य पत्ता लागे पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ।

बाँकी सुन तस्करले गन्तव्यमा पुर्‍याइसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सीआईबीले अनुसन्धान जारी राखेको हो। नयाँ तथ्य फेला पारेपछि सीआईबीले पूरक प्रतिवेदनका रूपमा बुझाउनेछ।

अवैध रूपमा करिब ६२ किलोग्राम सुन तस्करीको आरोपमा पक्राउ परेका ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भएको विषयमा पनि सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीका अनुसार नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर नेपाली नागरिकताबारे अनुसन्धान भइरहेको छ।

गत साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले ब्रेक सुमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो। ब्रेक सु सहित १५५ किलो रहेको सुन गाल्दा जम्मा ६० किलो ७१६ ग्राम भएको थियो। राजस्वले पनि यो प्रकरणमा राजस्व छलीको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:September 15, 2023