शेयर बजारमा दोहोरो अंकको गिरावट 

  Sampatti News

September 17, 2023

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साता करिब ४ प्रतिशत बढेर बन्द भएको नेप्से, यस दिन २ प्रतिशत घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ४२.१४ अंकले घटेर एक हजार ९ सय ६४ दशमलब ९१ विन्दुमा बन्द भएको हो । 

सामान्यतया बजार घट्दा कारोबार रकम पनि कम नै हुँदै आएकोमा धेरै दिनपछि कारोबार रकम दुई अर्ब नाघेको छ । यसले के कुराको संकेत गर्छ भने अब लगानीकर्ताहरू पर्ख र हेर भन्दा पनि बजारबाट बाहिरिने सोचमा पुगेको देखिन्छ ।    

त्यस्तै, आज दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । साथै आज  थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.८९ प्रतिशतले बढेर प्रतिकित्ता ३३७.७० रुपैयाँ पुगेको छ ।       

आज मोलुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.२१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसि एशिया बैंकको भएको छ । यस कम्पनीको आज २७ करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।     

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।

  

प्रकाशित मिति:September 17, 2023