महावाणिज्यदूतमा अधिकारी र महानिर्देशकमा शाही नियुक्त

  Sampatti News Online

September 18, 2023

काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा तथा नियुक्ति गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोगहरू तथा विभागीय प्रमुखको नियुक्ति तथा सरुवा गरेको हो ।

सरकारले भारत र चीनका लागि नयाँ नियुक्ति गरेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा नयाँ महानिर्देशक पठाएको छ । सरकारले दिल्लीको ‘मिनिष्टर इकोनोमिकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले सम्पत्ति न्युजलाई जानकारी दिए । २०७९ भदौ ३१ गतेदेखि विभागको महानिर्देशकमा नियुक्त अधिकारी अध्ययनशील र विवादरहित अधिकारीका रूपमा चिनिन्छन् । उनकै कार्यकालमा नेपाल ‘ग्रे लिष्ट’को तत्कालीन जोखिमबाटसमेत जोगिएको थियो ।

सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई नकारात्मक सूचीमा राख्न गत माघमै प्रतिवेदन दिएकोमा तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाललाई सूक्ष्म निगरानीमा राख्दै सुधारका लागि एक वर्षको समय दिइएसँगै ठुलो जोखिमबाट जोगिएको थियो ।

त्यहाँ कार्यरत सहसचिव निता पोखरेल ४ चार वर्षे कार्यकाल सम्पन्न गर्दै साता दिन अघि मात्रै नेपाल फर्किएकी थिइन् ।

यसैगरी छेन्दु महावाणिज्यदूतका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव सुरेश राउतलाई पठाइएको छ । त्यहाँ कार्यरत दिनेश कुमार घिमिरे सचिवमा बढुवा भएसँगै महावाणिज्यदूत रिक्त रहेको थियो ।

रिक्त सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा केही समय अघि मात्रै अध्ययन सकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका पुष्प शाहीलाई पठाइएको छ ।

प्रकाशित मिति:September 18, 2023