नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

September 19, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दिपरन्जन यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।

सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो । यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दश हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति:September 19, 2023