काठमाडौंमा सरकारको द्रुत बस सेवा सुरु, भाडा कति ?

  Sampatti News Online

September 20, 2023

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ आजदेखि सुरु भएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुका लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ। उद्घाटनका दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन्।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुगेको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् । रत्नपार्क(सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति:September 20, 2023