सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेश भट्टराई

  Sampatti News Online

September 23, 2023

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् । दशकौंदेखि यही प्रवृत्ति हाबी भएको उनको भनाइ छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको औंल्याए ।

भट्टराईले भने, ‘हामी लगानी गर्दैनौं भने प्रतिफल कहाँबाट आउँछ । प्रतिफल नै खोजिराखेका छौं । तर लगानी जति गर्नुपर्ने हो, त्यो सकेका छैनौं ।’

सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरुको संलग्नतामा पनि जोड दिनुपर्ने बताए ।

समृद्ध मुलुकको जग नै शिक्षा भए पनि सरकार यस क्षेत्रमा गम्भीर नभएको उनको आरोप छ । आवश्यकताअनुसार शिक्षण पद्धती नै परिवर्तन गर्नुपर्ने बताउँदै उनी थप्छन्, ‘विद्यार्थी र शिक्षकमात्रै संलग्न भएर हुँदैन । अभिभावकहरुलाई हामी कत्तिको संलग्न गराउँदछौं । त्यो ज्यादै महत्वपपूर्ण हुन्छ ।’

प्रकाशित मिति:September 23, 2023