काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता मा.वि.को भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले प्राविधिकले भुक्तानीको लागि स्वीकृत भएको भन्दा ६ लाख ५८ हजार ४४० बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको प्रमाणित भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले परिमाणभन्दा बढी भुक्तानी दिएर सरकारी रकम हानि(नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा ६ लाख, ५८ हजार, ४ सय ४० रुपैयाँ १६ पैसा बिगो कायम गरी सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड ९ङ० बमोजिम कैद एवं जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
यस्तै जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानीसमेत लिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।