सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता (सुचिसहित)

Nepal Cover
१२ आश्विन २०८०, शुक्रबार
image

काठमाडौँ । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।

यसअघि सरकार र शिक्षक महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो ।

शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुटेसँगै शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

सहमतिका बुँदा केहीबेरमा सार्वजनिक गरिने बताइएको छ। शिक्षा मन्त्री अशोक कुमार राईले अब शिक्षकहरुले राखेका मागको विषयमा अध्ययन गरी संसदमा प्रस्तुत गर्ने जानकारी दिए।

उनले भने,‘शिक्षकहरू सहमतिमा आउनु भएको छ,अब शिक्षामन्त्रीको जिम्मेवारी भएको छ।’

वार्तामा शिक्षामन्त्री,शिक्षा राज्यमन्त्री,राहत शिक्षकका प्रतिनिधिलगायत सहभागी थिए। सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि नै देशभरका शिक्षकहरूले आन्दोलन थालेका थिए। 

गत शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि स्थायी शिक्षकहरू घर गएका थिए। तर,माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय सङ्घर्ष समिति, नेपाल बाल विकास शिक्षक सङ्घर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन कायम राख्दै सडक छाडेका थिएनन्।