जलहरी घोटाला प्रकरणमा सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

October 1, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर छ ।

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगले तत्कालीन कोषाध्यक्ष समेत रहेका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पशुपतिको शिवलिंग (ज्योर्तिलिंङ)को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चादी १ केजी २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४.७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो । तर, तोकिएको शर्त र निर्णय बमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो ।

त्यस बेलाको मुल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर कोषले गर्‍यो । त्यसपछि खोजविन गर्दा रिङ राखिएको भेटिएन ।

प्रकाशित मिति:October 1, 2023