October 4, 2023
काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्ला केन्द्रविन्दु भएर हिजो मंगलवार दिउँसोबाट लगातार भूकम्प गइरहेको छ ।
मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा र ५ बजेर ३८ मिनेटमा पनि ५/५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएका छन् र अन्य कतिपय घर भत्किएका छन् । सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ । साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि त्रासित बनेका मानिसहरूले घरबाहिर निस्किएर खुला चौर, खेतमा बसेर रात कटाएका छन् ।
त्यस्तै, भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । गर्भवती, नवजात शिशु र अन्य बिरामीहरु पनि चिसोमा रातभरी बाहिर बसेका थिए । उनी डराएका कारण अस्पताल भित्र जान नमानेको र अवस्था एकदमै दयनिय रहेको जिल्ला अस्पतालले जनाएको छ ।
राती १२ बजेर १६ मिनेटमा ४. १ रेक्टर स्केल, १२ बजेर ५० मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै बिहान ४ बजेर २७ मिनेट जाँदा र ५ बजेर ४३ मिनेट जाँदा पनि ४. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण घाइते हुनेको संख्या ११ जना पुगेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जानकारी दिएका छन् । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र हाल घाइतेको अवस्था समान्य रहेको पाण्डेले जानकारी दिएका छन् ।
तयस्तै, जयपृथ्वी नगरपालिका ११ की महिला स्वंम सेविका गुनमति धामी पनि भूकम्पको पहिरोमा परेर बेपत्ता भएकी छिन् । उनी मंगलवार दिउँसो टिमुर टिप्न भन्दै लेकतिर गएको स्थानीयले बताएका छन् । प्रहरीको उद्धार टोलीले उनको खोजी कार्य गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए । उनले भने, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।”
प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन पनि भत्किएको बताएका छन् । डोटीमा पनि केही घर चर्किएका छन् । त्यस्तै धनगढीमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।
प्रकाशित मिति:October 4, 2023
November 25, 2024