प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

October 4, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा उनीहरूले गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको थियो । अख्तियारले चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उक्त उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको हो।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाईं, वडा सदस्य टिका विक, तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध मुद्दा दायर छ।

झुट्टा बिल भरपाई गरी ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रकाशित मिति:October 4, 2023