माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पाटीको अडान

  Sampatti News

October 5, 2023

काठमाडौं । माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पार्टी(नेसपा)ले अडान लिएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय भएको छ । यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकताका लागि माओवादीलाई ९ बुँदे आधार पत्र पठाएका छौं । त्यसको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय भएको छ’, स्रोतले भन्यो, ‘माओवादीले पठाएको पत्र पार्टी विभाजन गर्ने, अन्तरद्वन्द्वमा फसाउने गरी षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।’

यसैगरी पर्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । माओवादीले भदौ ३० मा अध्यक्ष डा. बाबुरामलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएपछि नेसपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ ।

यस्तै, आगामी वैशाखमा महाधिवेशन गर्ने नेसपाले निर्णय गरेको छ । बुधबार राति अबेर सकिएको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।

प्रकाशित मिति:October 5, 2023