दण्डहीनता, सुशासन, भ्रष्टाचार, महँगी नियन्त्रयजस्ता कुरामा सरकार चुक्यो : नेपालले

  Sampatti News Online

October 6, 2023

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औँल्याएका छन्।

पार्टीको मेची–महाकाली अभियानअन्तर्गत शुक्रबार हेटौँडा आइपुगेका अध्यक्ष नेपालले सरकार पछिल्लो समय दण्डहीनता, सुशासन, भ्रष्टाचार, महँगी नियन्त्रयजस्ता कुरामा चुकेको आरोप लगाउँदै राज्यले सुशासनको प्रत्याभूति दिलाउन सके मात्रै जनतामाथि न्याय हुने बताए।

‘सरकार साँच्चै नागरिकका पक्षमा हो भने उनीहरूको सस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ। जनताको अपेक्षालाई लत्याएर कुनै पनि सरकार सफल हुन सक्दैन। त्यसकारण पछिल्लो समय देखिएको दण्डहीनता र कुशासनको अन्त्य गर्नतर्फ सरकार सचेत हुनुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले नागरिकहरूमा परेका समस्याहरूलाई सडकबाट सुन्न र संसद र सरकारबाट सम्बोधनको पहल गर्न आफूहरूले मेचीदेखि महाकालीसम्म अभियान सञ्चालन गरेको दाबी गरे। 

‘नागरिकका कुरा सुन्नका लागि पार्टीले मेची–महाकाली समाजवादी जागरण अभियान सुरु गरेको हो । जनताका माझमा पार्टीका नीति र मुद्दा स्थापित गर्दै उनीहरूका माग सम्बोधन हुने वातावरण तयार गर्नु हाम्रो दायित्व हो। त्यसका लागि नै हामीले काम गरिरहेका छौँ,’ अध्यक्ष नेपालले भने।

यस्तै, समाजवादी पार्टी र यसले नागरिकको अवस्था परिवर्तन गर्न तयार पारेको नीतिबारे नागरिकलाई जानकारी गराउन पनि अभियान गरिएकाे उनको भनाइ छ। अध्यक्ष नेपालले अभियानले पार्टीले नागरिकको अवस्था परिवर्तनका कृषि, शिक्षा र स्वास्थ्यको पूर्वाधार तथा आर्थिक समृद्धिका विषयहरू नागरिक माझमा पुर्‍याएको बताए। 

कार्यक्रममा एकीकृत समावादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव गंगाधार तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रि भुसाल, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामालगायतले विद्रोहबाट जन्मिएको पार्टीले आफ्नो औचित्य पुष्टि गर्नका लागि आमजनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति:October 6, 2023