कोशी प्रदेशमा एक साताभित्र सरकार गठनको आह्वान

  Sampatti News

October 8, 2023

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् ।

“कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार गठनमा सहयोग गर्ने बताएका छन् । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीयतामाथिको नकारात्मक धारणा मेट्न तथा यसलाई जीवन्त राख्न अब गठन हुने सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले आफ्नो दलसँग बहुमत सदस्य नभएकाले सरकार गठनका निम्ति दाबी पेश नगर्ने प्रष्ट गर्दै छोटो समयका लागि भए पनि दुईपटक सरकारको नेतृत्व गरेकाले अब अन्य राजनीतिक दललाई सहयोग गर्ने बताए ।

प्रकाशित मिति:October 8, 2023