नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

  Sampatti News Online

October 8, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर मार्जिन कर्जाको सीमालाई बढाएर व्यक्तिगत तर्फको ४ करोडलाई बढाएर १५ र संस्थागत तर्फको १२ करोडलाई बढाएर २० करोड बनाए पनि त्यसले शेयर बजारमा सकारात्मक प्रभाव भने पारेको देखिएन । आइतबार भएको साताको पहिलो कारोबारमा नेप्से परिसूचकमा ठूलो अंकको गिरावट देखिएसँगै यस्तो निष्कर्ष निकालिएको हो ।

शुक्रबार राष्ट्र बैंकले संशोधित परिपत्र मार्फत शेयर मार्जिन कर्जा र घरजग्गा कर्जालाई केही सहजता थपे पनि आइतबार नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले तल झरेको छ । यो गिरावटबाट नेप्से परिसूचक १९२१ दशमलव २४ बिन्दुमा तल झरेर अडेको छ । यसरी परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैंयाको भएको छ ।

आइतबारको कारोबारमा जम्मा १६ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ । चार वटा कम्पनीको मूल्यमा भने कुनै हेरफेर आएको छैन ।  

आइतबार ठूलो अंकले बजार घट्दा पनि दुई वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत माथि बढोत्तरी देखिएको छ । यी कम्पनीहरूमा वाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ रहेका छन् । त्यसैगरी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डीभेन्चर, २०८५ को मूल्यमा भने १० प्रतिशतको गिरावट आएको छ ।  

आइतबार शिबम सिमेन्टको सर्वाधिक बढी मूल्यको कारोबार भएको छ । यसको ६ करोड ७३ लाख ८१ हजारको कारोबार भएको हो । आइतबारको कारोबारले  शेयर लगानीकर्तामा थप निराशा बढेको देखाएको छ ।

प्रकाशित मिति:October 8, 2023