समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै

  Sampatti News

October 10, 2023

कास्की । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ ।

मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुनेगरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा रहेका छन्। जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।

यसैगरी, कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेकपालाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताइन् ।

उनका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उनले बताइन् ।

संयोजक गुरुङले भनिन्, ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो। मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौं। सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौं ।’

बैठकले इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वमा परी नेपाली विद्यार्थीको निधन भएकामा दुःख व्यक्त गरेको छ। साथै विद्रोहीहरूको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रस्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरूको शीघ्र उद्धार र राहतका लागि सरकारसँग मागसमेत गरेको छ ।

मोर्चाको गण्डकी प्रदेश समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङसहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन्। एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहेका छन् ।

यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् । मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गरेका छन् ।

प्रकाशित मिति:October 10, 2023