प्रधानमन्त्री दाहाल चितवनमा

  Sampatti News

October 14, 2023

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  गृहजिल्ला चितवन आइपुगेका छन्  ।

भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गरनेछन् ।

शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ । सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ । यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो ।

यसैगरी, भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् ।

प्रकाशित मिति:October 14, 2023