प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजे : शेखर कोइराला

Nepal Cover
१० कार्तिक २०८०, शुक्रबार
image

काठमाडौँ– कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। 

दसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातिय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने नेता कोइरालाले जिकिर गरे।

उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले राजनैतिक दलका नेताहरु संवेदनशिल र सचेत हुनुपर्ने जिकिर गरे। उनले जातीय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे।

प्रधानमन्त्री दाहालले जनजाती दिवसका अवसरमा अब आउने निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बहुमत दिलाए जातिय राज्य दिन सकिने बताएका थिए। प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो।

नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताए । उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउँदै कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनैतिक गतिविधि बढ्ने जानकारी दिए।