November 2, 2023
काठमाडौँ । सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।
निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।
बिहीवार(आज)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिकतर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।
प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो ।
इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएसँगै मन्त्रिपरिषद बैठकले उनलाई सचिव बनाउने पक्का थियो ।
प्रकाशित मिति:November 2, 2023
November 24, 2024