November 2, 2023
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सरकारको आलोचना गरे । प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ ? भन्दै यादवले प्रश्नसमेत गरे । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको उनको दाबी छ ।
यादवले भने, ‘प्रदेशहरूलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौं । यहाँ भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ? भन्ने एउटा गम्भीर प्रश्न रहिरहेको छ ।’
संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्ने बताए ।
समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ ।
प्रकाशित मिति:November 2, 2023
November 24, 2024