सामाजिक सुरक्षा कोषमा ४ लाख श्रमिक समेटिए

  Sampatti News Online

November 3, 2023

काठमाडौँ- योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत ७ महिनामाको अविधिमा ३ लाख ९३ हजार ५०१ जना विदेशमा कार्यरत कामदार आवद्ध भएको कोषले जनाएको छ।

सरकारले चैत ८ देखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका कामदारलाई कोषको कार्यक्रममा समेट्न थालेको थियो। वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेलामा योजनामा समावेश भइरहेको सामाजिक सुरक्षा कोषले जानकारी दिए।

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका कामदारले श्रम स्वीकृति लिएपछि कोषमा योजनालाई अनिवार्य गरेको उनले बताए। ‘विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता भइरहेका छन्।

नयाँ जाने कामदारको श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आवद्ध हुने गरेका छन्। करिब ७६ करोड १६ लाख ८० हजार २२४ रुपैयाँ योगदान रकम जम्मा भएको छ’ उनले भने। वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्टसमेत रकम लिने वा निवृत्तभरण योजना रोज्ने विकल्प हुने कोषले जनाएको छ।

सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा आबद्धता गराउन सुरु गरेको थियो। हालसम्म सुचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेको कोषको तथ्यांकमा छ।

वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेकाले न्यूनतम २ हजार ३ सयदेखि अधिकतम २८ हजार रुपैयाँसम्म कोषमा योगदान गर्न सक्ने छन्। कोषमा हालसम्म औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार र स्वरोजगार गरेर ८ लाख ४५ हजार १९३ श्रमिक आवद्ध भइसकेका छन्। कोषमा हालसम्म १८ हजार ३७६ रोजगारदाता सूचिकृत भएका छन्।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि २६ करोड ६२ लाख ७५ हजार ५९१ रुपैयाँ र बृद्ध अवस्था सुरक्षा योजनाका लागि ४९ करोड ५३ लाख ९४ हजार ६३१ रुपैयाँ योगदान गरेका छन्।

कोषमा कामदारको योगदानमार्फत ४२ अर्ब ९० करोड रुपैयाँ जम्मा गरिसकेका छन्। कोषमा जम्मा भएको रकममध्येबाट लाभग्राही १ लाख ५ हजार ९ सय ७९ दाबीका लागि ६ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेको छ। योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ सय रुपैयाँ बुझाउनु पर्ने छ। रकम एकमुष्ट बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ।

प्रकाशित मिति:November 3, 2023