सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोट प्रस्थान

  Sampatti News Online

November 4, 2023

काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रवक्ता राजेन्द्र खड्काले इकर्मचारीलाई बताए ।डा. पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेका हुन् ।

खड्काका अनुसार, दाङ, बाके र सुर्खेतबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । ‘डीआरएस कन्टेनरमा खाद्यान्नबाहेक उद्दारका सबै सामग्रीहरु हुन्छ, अहिले कुरिनटार र सिनामंगलरमा पनि डिजास्टर म्यानेजमेन्टको तालिम लिएको टोली तैनाथ राखिएको छ’, उनले भने, ‘थप मेडिकल रेस्पोन्डरको टोली पनि पठाउन तैनाथ गरेका छौं ।’

एसएसपी खड्काका अनुसार, महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।

त्यस्तै थप मद्दतको लागि ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा ३५ जना, ६ नम्बर बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली, २९ नम्बर गण दाङबाट २१ जनाको टोली, ४२ नम्बर रिजर्भ गण बाँकेबाट २५ जनाको टोलीका साथै मेडिकल टिमलाई जाजरकोटमा पठाइएको प्रबक्ता खड्काले जानकारी दिए । साथै विभिन्न युनिटहरुबाट थप मद्दतको लागि तयारी हुँदै रहेको उनले बताए ।

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको जाजरकोटमा मात्र संख्या ९२ पुगेका छन ।

सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भुकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानवीय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागीे काम गर्दै आएको छ ।

प्रकाशित मिति:November 4, 2023