आजदेखि एमडिएमएस प्रणालीमा दर्ता नभएका फोन नचल्ने

  Sampatti News Online

November 6, 2023

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ प्रणाली पूर्ण रूपमा लागु गर्दैछ। अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ यो प्रणाली आजदेखि लागु गर्ने भएको हो।

प्राधिकरणले कार्तिक ४ गते सूचना जारी गरि १५ दिन भित्र नेपालको दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाईल ह्यान्डसेटहरू प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता गराउन आग्रह गरेको थियो । यदि १५ दिन भित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरूमा नियमानुसार मोबाईल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको थियो । 

प्राधिकरणले दिएको १५ दिनको अवधि सकिएकोले अब प्राधिकरणले आजदेखि प्रणालीमा दर्ता नभएका मोबाइललाको नेटवर्क लक गर्ने भएको छ ।  पहिलो चरणमा महँगा  मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएको  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । प्राधिकरणका अनुसार अब हरेक दिन केहि सय संख्यामा दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् । 

नयाँ आईफोन १५ सिरिजबाट यो सुरु हुने प्राधिकरणले उल्लेख गरेको छ । आईफोन १५ सिरिजका करिब २५०० फोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको र आज राति ९ बजे पश्चात् ति फोन नेपालभित्र चल्न छोड्ने प्राधिकरणले जनाएको छ। आईफोन १५ पछि अन्य फ्ल्यागशिप फोनहरूको पालो आउने प्राधिकरणले उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल भने प्रणालीमा स्वतः दर्ता भैसकेको छ। गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेटको नेटवर्क लक गर्ने प्राधिकरणले तयारी गरेको हो।

 प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर आफ्नो मोबाइल दर्ता भए/नभएको हेर्न सकिन्छ । व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न पनि सकिन्छ । 

प्रकाशित मिति:November 6, 2023