छठपर्व अघिनै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणको प्रयास हुँदै : कार्यवाहक मेयर खातुन

  Sampatti News Online

November 6, 2023

रौतहट २० कार्तिक।
प्रमुख प्रशासकीय अधिकृत बिहिन वनेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाको उपमेयर अम्बेया खातुनले हिन्दूहरूको लोकपर्व छठ अघिनै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको बताएकी छन्।
कार्यवाहक मेयर खातुन र वडा अध्यक्ष संगै कार्यपालिका सदस्य बीच तालमेल नमिलेको कारण खटाइएका प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाउँदा नगरपालिका प्रमुख विहीन बनेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपनी जनप्रतिनिधि बिच बिवादको कारण प्रधानले हाजिर गर्न पाएनन्।
प्रधानको सरुवा चिठीमा गत असोज २८ गते दर्ता गरेपछि निमित प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव जिम्मेवारीबाट मुक्त भएका थिए।
कार्यवाहक मेयर अमबेय खातुन उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराउने पक्षमा छन् भने वडाअध्यक्षहरु पुरानो हाकिम शम्भु यादव लाई हाजिर गराउने पक्षमा छन् ।
उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा बिभिन्न शीर्षकको लाखौं रकम अनियमितता गरेको आरोप लागेको छ।
उता पहिलेका प्रमुख शम्भु यादव र तत्कालिन मेयर सँगै केही कांग्रेस नेताहरुको ईशारामा करोडौं रुपैयाँ अनियमितता भएको उपमेयर खातुन पक्षको दाबी छ।
तत्कालीन मेयर गोपाल राय यादव अख्तिारद्वारा लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएपछि निलम्बित भएदेखि नै जनप्रतिनिधि बीच सहमति नहुँदा हालसम्म नगरसभा समेत हुन सकेको छैन।
असार १० गते भित्र हुनुपर्ने नगरसभा हालसम्म पनि नहुँदा फतुवा विजयपुरमा कार्यरत शिक्षक सहित झण्डै ३५० कर्मचारीले तलब पाएका छैनन् भने लोकपर्व छठको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सैयौं वृद्ध वृद्धा एकल महिला लगायत कठिनाईमा परेका छन।
यसैबीच कार्यवाहक मेयर अम्बेया खातुनले लोकपर्व छठ अघिनै कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता वितरण बारे कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा पहल भइरहेको बताएकी छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख राजन कुमार फुयाँलले हालसम्म नगर तथा गाउँसभा नहुँदा फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका र यमुनामाई गाउपालिकाका कर्मचारीहरु तलब पाउनबाट वञ्चित भएका छन् भने सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।

प्रकाशित मिति:November 6, 2023