एकै दिन नार्कका २४ कार्यालयको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

  Sampatti News Online

November 6, 2023

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको बिभिन्न कार्यालयहरुको आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

वागमती प्रदेश (काठमाडौं उपत्यका) स्थित बिभिन्न कार्यालयहरुको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आजै तीन सत्रमा कार्यक्रम आयोजना भएको थियो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार, ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा काठमाडौं उपत्यकाका २४ वटा कार्यालयहरुले आफ्नो तीन महिने त्रैमासिक प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पुँजीगत कार्यक्रमहरु, वितिय प्रगति, बेरुजुको अवस्था लगायतका बिषयहरु समेटिएका थिए । गोष्ठीको अध्यक्षता नार्कका योजना तथा समन्वय निर्देशक डा।लुमानिधि पाण्डेले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पाण्डेले मन्त्रालय र नार्कका निर्देशनहरुको पालना गर्दै सम्पूर्ण कार्यक्रम र बजेटको खर्च यथासमयमा नै सम्पन्न गर्न निर्देशन दिए । खर्च हुन नसक्ने रकमलाई समयमै अभ्यर्पण गरी बजेट व्यवस्थापन र परिचालनमा ध्यानदिनुपर्ने आवश्यक रहेको बताए ।

यसैगरी गोष्ठीमा नार्कका पशु तथा मत्सय अनुसन्धान निर्देशक डा. दोजराज खनाल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखः, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. स्वयमप्रकाश श्रेष्ठ, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नार्कका बिभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, कार्यक्रम संयोजकहरु, महाशाखा प्रमुखहरु, बैज्ञानिकहरु, योजना अधिकृत तथा प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई नार्कका अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा. सुधा सापकोटाले स्वागत तथा कार्यक्रमको उदेश्य बारेमा प्रकाश पारेकी थिइन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा उपत्यका भित्रका कार्यालयहरुको प्रगति सन्तोषजनक रहेको बताए । उपत्यका बाहिरका कार्यालयहरुको त्रैमासिक प्रगति समिक्षा सोमबार भर्चुअल माध्यमबाट सातै प्रदेशमा एकैसाथ हुने उनले बताए ।

प्रकाशित मिति:November 6, 2023