सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, श्री लालीगुराँस सहकारीका सीईओ फरार

  Sampatti News Online

November 11, 2023

काठमाडौं । नियमन गर्ने राज्यसंयन्त्रको अकर्मण्यताका कारण सहकारी संस्थामा लाखौँ सर्वसाधारणको अर्बौँ निक्षेप जोखिममा परेको छ । एकपछि अर्काे सहकारी समस्यामा पर्दा प्रहरीमा उजुरीको चाङ लागेको छ भने सञ्चालक फरार हुन थालेका छन् । 

त्यस्तै ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नेतृत्वमा सहकारीमा करोडौँ हिनामिना हुँदा पनि नियामक निकाय मौन जस्तै छ ।

सहकारीका संचालकहरुले बचतकर्ताको रकम हिनामिना गरेको विषयमा पटक पटक उजुरी पर्दा पनि सहकारी विभागले छलफल मात्रै गराएर उन्मुक्ति दिने गरेको छ । सहकारी विभागका उच्च अधिकारीहरु भण्डारीको संरक्षणकर्ताको रुपमा देखिएका छन् ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार रजमान तामाङ्गले उक्त सहकारीमा पटक पटक गरि ३१ लाख रुपैयाँभन्दा बढी बचत गरेका थिए । जितपुर सिमारा बारा घर भएका तामाङ्गको उक्त बचत रकम फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि सहकारीले दिन सकेन । पीडित तामाङ्गले आफ्नो रकम फिर्ता पाउन माग गर्दै सहकारी विभागमा समेत उजुरी दिए । उनको उजुरीको विषयमा २०८० असार ३१ गते विभागका रजिष्टारको नेतृत्वमा छलफल भयो ।

छलफलमा सहकारीको संचालक समितिका सचिव समेत रहेका सुरेन्द्र भण्डारी समेत सहभागी थिए । उनीहरुबीचको छलफलमा ९० दिन भित्र बचत रकम फिर्ता गर्ने सहमति भएको थियो । सहमतिमा भण्डारीले हस्ताक्षर गरेका छन् । तर, चार महिना वित्न लाग्दा समेत सहकारीले बचत रकम फिर्ता गर्न सकेको छैन ।

पीडित बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक पटक कोशिस गरेका छन् । तर, सहकारीले विभिन्न बहाना बनाएर झुलाउने गरेको छ । ९० दिन भित्र बचत रकम फिर्ता नदिए कारबाही गर्नुपर्ने सहकारी विभाग समेत मौन छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले सहकारीको बचतकर्ताको रकम हिनामिना गरि घरजग्गाको धन्दामा लगानी गरेका कारण अहिले सहकारी समेत टाट पल्टिएको हो । सहकारीको रकमबाट खरिद भएका विभिन्न सम्पत्ति समेत यतिबेला उनले सब्बुसिंह भण्डारी नामक एक महिलाको नाममा पास गरेर लुकाइरहेका छन् ।

पुल्चोकस्थित सहकारीको स्वामित्व रहेको जय लालीगुराँस ईन्भेष्टमेन्ट लेखिएको भवन पनि सुटुक्क सब्बु सिंहको नाममा पास गरिएको छ ।

विभागमै उजुरी परे कारबाही गर्छौं : टोलराज उपाध्याय

विभागका सुचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारीलाई पटक पटक छलफल गराइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र पीडित पक्षलाई बोलाएर छलफल भएको उनको भनाई छ । ‘विभागममा छलफल भएको हो । यदि सहमति अनुसार रकम फिर्ता नपाएको भए पीडित पक्षले थप निवेदन विभागलाई दिनु भयो भने हामीले कारबाहीका लागि सिआइबी लगायत निकायलाई पत्राचार गर्ने कुरा हुन्छ । हाम्रोमा निवेदन नआएसम्म पीडितले रकम फिर्ता पाए नपाएको थाहा हुने कुरा भएन,’ उनले भने,‘यदि सहमति अनुसार रकम नपाएको भए विभागमै उजुरी दिएपछि समस्याग्रस्त घोषणा गर्ने वा सिआइबीलाई कारबाहीका लागि पत्राचार गर्ने कुरा हुन्छ ।’

पीडित भन्छन्,‘थप उजुरी दिएका छौँ, तर विभागले कुनै कारबाही गरेन’

यता पीडित परिवारका आफन्त भने थप उजुरी दिँदा पनि विभागले कुनै कारबाही नगरेको बताउँछन् । ‘हामीले ९० दिन भित्र बचत रकम नपाएपछि थप उजुरी दिएका थियौँ । तर, विभागका अधिकारीले उजुरी संख्या नपुगेको भन्दै फिर्ता पठाएको छ,’ उनले भने,‘पीडित भनेको संख्यामा गणना हुने विषय हो र । कति जना पीडित खोज्न जाउँ ?’

बचतकर्ताको रकम कुम्ल्याएर सुरेन्द्र भण्डारी सम्पर्क विहिन

पीडित बचतकर्ताहरुले सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई पटक पटक सम्पर्क गरेका छन् । तर, उनको फोन कहिल्यै नउठेको उनीहरुको गुनासो छ । ‘बचतकर्ताको सम्पर्कबाट उहाँ भाग्नु भएको छ,’ ती पीडितले विभागमा उजुरी गरेपछि मात्रै देखिनुहुन्छ । फोन गर्दा कहिल्यै उठ्दैन ।’

प्रकाशित मिति:November 11, 2023