पर्वको समय खानेपानीको आपूर्ति नहुँदा कार्यालयमा तालाबन्दी

१६ सय परिवार समस्यामा

  Sampatti News Online

November 14, 2023

रौतहट २८ कार्तिक। रौतहटको कटहरिया नगरपालिका स्थित पर्वको समय नियमित खानेपानीको आपूर्ति नहुँदा आक्रोसित स्थानीयहरूले खानेपानीको कार्यालयमा तालाबन्दी गरेका छन्।
मंगलवार बिहान बहादुरपुर गाउँ बाट दर्जनौंको संख्यामा गएका उपभोक्ताहरुले कटहरिया ५ स्थित खानेपानीको कार्यालयमा तालाबन्दी गरेका हुन।
वर्षभरी जेनतेन गरेपनि दशैं दीपावली र हाल छठ पर्वको मुखमा पनि नियमित खानेपानी आपूर्ति नहुँदा ठूलो समस्या भएको उपभोक्ताहरु बताउँ छन्।
सप्लाई बन्द हुँदा सैयौं उपभोक्ता सुद्व पानीको सट्टा अशुद्ध अर्थात मात्र २०१२५ फिट गहिराई भएको ट्युवेलको आर्नेसिक युक्त पानी खान बाध्य भएको एकजना उपभोक्ता कटहरिया ५ का दीनानाथ जैसवालले बताएका छन्।
खानेपानीको आपूर्ति नियमित हुने ग्यारेन्टी नभए सम्म ताला नखोलिने बहादुरपुरका उपभोक्ताहरुले बताएका छन।
लामोसमय देखि विद्युत महसुल नबुझाएको कारण नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखाको टोलीले दुईसाता अघि
खानेपानी उपभोक्ता समिति र कटहरिया नगरपालिकाको विधुतको मीटरनै खोलेर लागेको थियो।नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवका अनुसार नगरपालिका माथि करिब ४ लाख र खानेपानी उपभोक्ता समिति माथि १६ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रहेकाले मिटर खोलेर ल्याईएको थियौं। नगरपालिकाले आवश्यक रकम बुझाएर विधुत मीटर लागिसकेको छ तर खानेपानी आयोजनाको नाउँको रकम हालसम्म नबुझाएका मीटर अफिसमै रहेको प्रमुख यादवले जानकारी दिएका छन्।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल निःशुल्क घोषणा गरेको तर विधुत महसुल नबुझाएको कारण समस्या भएको बताएका छन्। पूर्व मेयर सियाराम कुशवाहाको पालामा नगरपालिका बाट खानेपानीको विधुत महशुल बापत एकपटक विधुत प्राधिकरणको कार्यालय मौलापुरमा २० लाख रुपैयाँ बुझाएको थियो।
पुनः विद्युत महशुल बुझाउन तथा खानेपानीमा कार्यरत कर्मचारीको तलब दिन पूर्व मेयर कुशवाहाले खानेपानीको नाउँमा छुट्याएको २५ लाख रुपैयाँ बर्तमान मेयर अजयप्रकाश जैसवालले उक्त रकम अन्य शीर्षकमा खर्च गरेको कारण अहिले ठूलो समस्या भएको अध्यक्ष साहले बताएका छन्।
नगरपालिका संग पटकपटक माग गर्दा पनि खानेपानी लाई रकम नदिएको कारण एकातर्फ प्राधिकरणले विद्युत मीटर खोलेर लागेका छन भने अर्को तर्फ त्यहाँ कार्यरत कर्मचारीहरुको झण्डै ८ लाख रुपैयाँ तलब बितरण गर्न नसक्दा उनीहरूले काम बन्द गर्ने चेतावनी दिइरहेको अध्यक्ष योगेन्द्र साहले जानकारी दिएका छन्।
तेस्रो साना सहरी तथा खानेपानी आयोजना ईटहरीको पहलमा नेपाल सरकार नगरविकास कोषको ८५ प्रतिशतले झण्डै ४ करोड र स्थानियतहको १५ प्रतिशतले करिब ६० लाख लगानीमा कटहरिया ५ स्थित २०७७ साल देखि खानेपानी आयोजना सञ्चालनमा आएको थियो। हाल कटहरिया ४ र ५ वडा अन्तर्गत १६ सय घरमा पानीको धारा जोडिएको छ।नगरविकास कोष संग पूर्व मेयर कुशवाहाको पालामा कटहरिया नगरपालिकाको भएको सम्झौताको कुनै पनि बुन्दा बर्तमान मेयर अजयप्रकाश जैसवालको पालामा कार्वान्यान भएको छैन। नगरपालिकाले कोषलाई बुझाउनुपर्ने मासिक दुईलाख रुपैया बुझाईएको छैन। लागतको ब्याजका साथै निर्माण गर्ने ठेकदार कम्पनीको पनि झण्डै २० लाख रुपैयाँ तिर्नुपर्ने कटहरिया नगरपालिकाले नबुझाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन्।
मेयर अजयप्रकाश जैसवालले खानेपानीमा विद्युत लाईन नहुँदाको समय जर्नेटर बाट पानी सप्लाई गर्न दैनिक डिजल उपलब्ध गराउँदै आएको बताएका छन्। कार्यालय खुल्ना साथ विद्युत प्राधिकरण मौलापुरमा एकमुष्ट ५ लाख रुपैयाँ बुझाएर विद्युत लाईन जोडाउने र बाँकी रकम क्रमशः बुझाउँदै जाने मेयर जैसवालले प्रतिबद्धता जनाएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:November 14, 2023