छठ पर्वको आज दाेस्रो दिन, खरना विधि पूरा गरी मनाइँदै

  Sampatti News Online

November 18, 2023

काठमाडौँ । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।

छठ पूजा को दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन। खरनाको राति ‘चामल र गुड्’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन्।

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ। माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ। यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता छ। ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खान्छन्।

पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे ।

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रूपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

प्रकाशित मिति:November 18, 2023