फतुवा बिजयपुरमा हाजिर हुँदै उपसचिव प्रधानले भने १ महिना भित्र नगरको सबै समस्या समाधान गर्नेछु

  Sampatti News Online

November 23, 2023

रौतहट ७ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मूल गेटमा ताला फुटाएर बुधवार प्रमुख प्रशासकिय अधिकृतको रूपमा उपसचिव सुरेन्द्र प्रधान लाई हाजिर गराईएको छ।
कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिकाको कार्यालयको मूल गेटमा लगाईएको ताला फुटाएर उपसचिव प्रधान लाई हाजिर गराईएको हो।
कार्यवाहक मेयर खातुनले टिका र माला लगाई स्वागत गर्दै बुधवार देखिनै प्रधानलाई नगरको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कामकाज सुरु गराएकी हुन्। सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत प्रधानले भोलि देखिनै सम्बन्धितहरुको बैंक खातामा सामाजिक सुरक्षा भत्ता पठाउन सुरुगर्ने र १ महिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। सब भन्दा पहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु हुन साथ केहीदिन भित्र कार्यपालिका बोर्डको बैठक बोलाउन लगाएर नगरसभा गराउने तथा कर्मचारीहरुको तलब बितरण संगै आर्थिक कारोवार संचालन गराउने उपसचिव प्रधानले बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गतेनै फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो।
मन्त्रालयको चिठी सहित हाजिर हुन गएका प्रधान नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरुको बिरोधको कारण हाजिर हुनसकेका थिएनन्। फतुवा बिजयपुरमा कोरोना कालमा प्रमुख प्रशासकिय अधिकृत हुँदा प्रधानले बिभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको भन्दै केही वडा अध्यक्षहरुले कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवनै हुनुपर्ने माग गरेका थिए।
तर कार्यवाहक मेयर अम्बेया खातुनले प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान आएपछि भ्रष्टाचार गर्न कठिन हुने र यादव हुँदा सहज हुने भएकाले मात्र उनीहरूले प्रधान माथि त्यस्तो आरोप लगाएर बिरोध गरेको बताउँदै आएकी छन्।
मेयर खातुन र केही वडा अध्यक्ष बीच प्रमुख प्रशासकीय अधिकृतकै बिषय लिएर तनाव बढेपछि वडा अध्यक्षहरुले केही कर्मचारी लाई अगाडी सारेर दशैं अगाडिनै नगरपालिकाको कार्यलयमा तालाबन्दी गराएको वडा ६ का अध्यक्ष सञ्जय यादवले बताएका छन्।
झण्डै दुईमहिना अघि नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरुले लगाएको ताला बुधवार फुटाउने क्रममा मेयर खातुन , वडा २ का अध्ययन सञ्जय यादव,६ का अध्यक्ष राम एकवाल यादव १० का अध्यक्ष मञ्जय चौधरी, उपसचिव सुरेन्द्र प्रधानका साथै सैयौं स्थानियहरुको उपस्थिति रहेको थियो।
फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र केही वडा अध्यक्षहरु बिच तालमेल नमिलेको कारण असार १० गतेभित्र हुनुपर्ने नगरसभा झण्डै ६ महिना बित्नलाग्दा सम्म हुनसकेको छैन। हालसम्म नगरसभा नभएको कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोवार ठप्प भएर झण्डै तीनसय ५० जना शिक्षक कर्मचारीले गत साउन देखि तलब पाउन सकेका छैनन् भने हिन्दूहरूको महान पर्व दशैं तिहार दीपावली छठमा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटी सचिव संतोष कुमार साहले बताएका छन्।
फतुवा बिजयपुर नगरपालिका स्थित लालबकैया नदीको टेन्डरमा नेपाली कांग्रेस बाट निर्वाचित तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत आर्थिक वर्षमा नै निलम्बित गरेपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन कार्यवाहक बनेकी छन्।
निर्धारित समयमा किन भएन नगरसभा
गत आर्थक वर्षको असार १० गते नगरसभा गर्ने कार्यपालिका बोर्डले गरेको निर्णय अनुसार तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले सूचना सार्वजनिक गरेका थिए। सोही सूचनाको आधारमा फतुवा बिजयपुरको नगरसभा गत असार १० गते हुने भनेर कैयौं मिडियाले समाचार समेत सम्प्रेषण गरेका थिए।
तर मात्र चार दिन नगरसभाको दिन बाँकी छँदा कांग्रेस पार्टीकै केही नेताहरु बलपूर्वक नगरसभा रोक्न लगाएको कार्यवाहक मेयर खातुनका श्रीमान महमद सेराजले बताएका छन्।
तत्कालीन मेयर गोपाल राय यादवको पद अख्तियार बाट फुकुवा भएपछि उनकै अध्यक्षतामा नगरसभा गर्ने मनसायले कांग्रेसका केही ठूला नेताहरुको ईशारामा असार १० को नगरसभा हुन नदिएको कारण हालासम नभएर नगरेको सम्पूर्ण आर्थिक कारोवार ठप्प भएर कर्मचारीले तलब पाउन नसकेको तथा सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको महमद सेराजले गुनासो गरेका छन्।
त्यतिमात्र नभएर फतुवा बिजयपुर नगरपालिका सञ्चालन गर्न अन्य दलका निर्वाचित जनप्रतिनिधि तथा नेताहरुले सहयोग गरिरहेका छन भने कांग्रेसका निर्वाचित जनप्रतिनिधि र नेताहरुले बिभिन्न बखेडा बनाएर बाधा उत्पन्न गर्दै आएको मेयर खातुनका श्रीमान सेराजले गुनासो गरेका छन्।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग टंगालको सिफारिसमा बिशेष अदालतले फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल राय यादव लाई लालबकैया नदिको टेण्डरमा दोषी ठहर गर्दै तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको निर्णय गरेको थियो।
यसै बिच फतुवा बिजयपुर नगरपालिका नियमित सञ्चालन गराउन सर्वदलीय बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। संघर्ष समितिका अध्यक्ष नेकपा एमालेका प्रतिनिधि शिवपुजन यादवको नेतृत्वमा गएको सर्वदलीय टोलीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिका अध्यक्ष यादवक अनुसार भोलि ७ गते फतुवा विजयपुरमा प्रदर्शन गर्ने तथा नगरपालिका सुचारु नभएका आगामी ९ गतेदेखि चक्काजाम गर्दै नगरपालिकाको अगाडी धर्ना दिने कार्यक्रम रहेको एक।

प्रकाशित मिति:November 23, 2023