मन्त्रिपरिषद् निर्णय : उपरथी पाण्डे र ऊर्जासचिव घिमिरेको राजीनामा स्वीकृत

Nepal Cover
७ मंसिर २०८०, बिहीबार
image

काठमाडौं । सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो ।

सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको छ ।

यसैगरी ऊर्जा मन्त्रालयका सचिव घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिनाअगावै व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । घिमिरेको राजीनामा पनि स्वीकृत भएको मन्त्री शर्माले जनाइन् ।

यसैगरी सरकारले विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने गरेको छ। प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्विसफ्र्यांक ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चारजना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । जसमा रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट थप्ने निर्णय भएको हो ।