काठमाडौं- धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। धनकुटा नगरपालिका–१ निगालेमा श्रीमान्, श्रीमती र छोरा मृत भेटिएका हुन्।
धनकुटा नगरपालिका-१ को निगालेका ३५ वर्षीय टिका गुरुङ्ग, उनकी श्रीमती ३६ वर्षीया भीमा र ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टीकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको थियो।
घरमा विवाद भएपछि श्रीमान् टीकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए। छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गए राति झगडा समेत भएको थियो।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ। मृत्युको कारण खुलेको छैन। घाउचोट नदेखिएकोले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जानकारी दिएको छ।