प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व भ्रष्टाचार मुद्दा

Nepal Cover
७ मंसिर २०८०, बिहीबार
image

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेकामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ छन् । 

त्यस्तै, कोषाध्यक्ष शम्भु जिसी, वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, बुढी राप्ति उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कुमार दाहाल र सचिव कल्याण लटौला रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ७८ हजार रुपैयाँ देखि एक करोड १९ लाख पाँच हजार ६०३ रुपैयाँसम्म बिगो दाबी गरिएको छ । 

कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।