राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको सुझाव

  Sampatti News Online

November 24, 2023

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको बताए । आयोगको पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले आयोगको सुझावअनुसार नै निर्वाचनको मिति तोक्ने संकेत गरेको अर्यालले जानकारी दिए ।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

प्रकाशित मिति:November 24, 2023