दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न छैन अनुमति, प्रशासनले दियो चेतावनी

  Sampatti News Online

November 24, 2023

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

प्रसाईको नेतृत्वको यो अभियानले हिजो बल्खुमा कार्यक्रमको आयोजना गरेको थियो तर आज तीनकुने केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ । सोही पछि जिल्ला प्रशासन कार्याय काठमाडौें उक्त क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको बताएको छ।

सिडियो कार्यालयले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । साहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले एक विज्ञप्ती जारी गर्दै भनिएको छ,राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति–केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबादेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन’,

शान्ति सुरक्षामा गम्भीर असर पार्नेगरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’

प्रकाशित मिति:November 24, 2023