प्राविधिक शिक्षामा स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत

  Sampatti News Online

November 24, 2023

काठमाडौं- सरकारले प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्ड सरकारले प्रदान गरेको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गरेको छ। नेपालको शिक्षाका लागि विभिन्न दातृ निकाय, नियोग, मित्र राष्ट्रहरुले सहयोग गर्दै आएका छन्।

आजको मन्त्रिपरिषद बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा असोज २४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने र  उर्जा सचिव दिनेशकुमार घिमिरेको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति:November 24, 2023